KAVYA SCHOOL | काव्य स्कुल

शुक्रबारे गतिविधि

२२ भदौ, २०८०

काव्य स्कुलका विद्यार्थीहरूले गत शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलापहरू मार्फत् व्यवहारमा आधारित सिकाइ गतिविधिहरूको मज्जा लिए। सबै विद्यार्थीहरू हरेक शुक्रबार आ–आफ्ना शिक्षकहरूद्वारा सञ्चालित सीपमा आधारित सिकाइ कार्यक्रमका लागि क्लब गतिविधिहरूसहित विभिन्न गतिविधिमा संलग्न भए । जस्तैः बास्केटबल, क्रिकेट, फुटबल, तेक्वान्दो, नृत्य, कला तथा चित्रकला, अभिनय, गायन तथा दौड लगायतका खेलमा विद्यालय परिसर बाहिर पनि सहभागी भई सिकेका थिए । ‘बुक फ्री फ्राइडे’ एउटा काव्य परम्परा नै हो । यसका अतिरिक्त बिहानी सत्रमा सुलोचना सदनका विद्यार्थीहरूले यस शैक्षिक अवधिको विषय क्षेत्र (थिम) ‘हाम्रो संस्कृति र चाडपर्व’लाई केन्द्रविन्दु बनाएर श्रीकृष्ण जन्माष्टमी पर्व सम्बन्धी उत्कृष्ट एकाङ्की झलक प्रस्तुत गरे । कक्षा एकका नानीबाबुहरूले हाम्रा चाडपर्व शीर्षकमा नेपाली भाषामा सुलेखन गरे भने कक्षा दुईका  नानीबाबुहरूले ‘ड्रोइङ अफ डिफ्रेन एनिमल’ क्रियाकलापमा संलग्न भए । यसैगरी कक्षा तीनका  नानीबाबुहरूले अङ्ग्रेजी भाषामा  कथा रचना गर्नुका साथै आकस्मिक उपचारको लागि औषधी राख्ने बाकस निर्माण गरे । कक्षा चार र पाँचका विद्यार्थीहरूले अङ्ग्रेजी र नेपाली भाषाको सुनाइ सिपको प्रशिक्षणमा सहभागी भए । कक्षा सात र आठका विद्यार्थीहरूले योग शिक्षाको प्रयोगात्मक प्रशिक्षण प्राप्त गरे । कक्षा नौ का विद्यार्थीहरूले आधुनिक शिक्षाको मेरुदण्ड मानिएको सुशाङ्ख्य (कम्प्युटर ) विज्ञानको ‘वेव पेज डिजाइन’ सम्बन्धी शिक्षा ग्रहण गर्नुका साथै माटोलाई मुछेर ‘स्वेल प्रोफाइल’ अन्तर्गत क्रियाकलापमा उत्साहपूर्ण सक्रिय सहभागी भए । कक्षा दशका विद्यार्थीहरूले कम्प्युटर विज्ञान विषयअन्तर्गत नै रहेर ‘डाटा वेस’ सिके ।

यसरी काव्य‍ ‍स्कुलका सबै शुक्रबार अन्य दिनको तुलनामा रमाइलो हुन्छ। विद्यार्थीहरूले उत्साहपूर्ण रूपमा विभिन्न सह-पाठ्यक्रम गतिविधिहरू सिक्ने गर्दछन् ।

ज्योत्सिरा पाण्डे: कक्षा ९ म
आसरा के.सी.: कक्षा ९  म


Date : 2023-09-13