२६ श्रावण २०८०
‘ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा’
— नाट्यसम्राट बालकृष्ण सम
प्रयोगमा आधारित ज्ञान नै विज्ञान हो । विज्ञानसम्मत युग नै
वैज्ञानिक युग हो । आज २१औँ शताब्दीका बालबालिकालाई उन्नतिशील एवम् उत्थानोन्मुख वैज्ञानिक शिक्षा आवश्यक छ । काव्य स्कुलले आफ्नो स्थापना कालदेखि नै आफ्ना नानीबाबुहरूलाई ज्ञान, सिप र धारणासहितको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको कुरा सर्वविदितै छ । अतिरिक्त कार्यकलापअन्तर्गत विद्यालयमा शुक्रबार सैद्धान्तिक तथा व्यावहा्िरक ज्ञान आर्जन हुने विविध कार्यक्रमहरू सम्पन्न भयो ।
विद्यालयमा विद्यार्थी प्रतिनिधि, शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र सामुदायिक प्रहरी बिच समसामयिक विषयमा अन्तरक्रिया भएको थियो । कक्षा ४ र ५का नानीबाबुहरूले आआप्नो सदनका भित्तेपत्रिका निर्माण गर्नुका साथै सिलाइ सिप आर्जन गरे । कक्षा ६ र ७का नानीबाबुहरू ‘मेन्टल म्याथ’ कार्यक्रममा सक्रिय सहभागी भए । सोही कक्षाका छात्राहरूले किशोरावस्थाका सामाजिक तथा मानसिक समस्या एवम् मासिक श्राव (महिनावारी) सम्बन्धमा अन्तरक्रिया गरे । कक्षा ८ का नानीबाबुहरूले विज्ञान प्रयोगशालामा प्याजको केस्रा र रेसाको बारेमा प्रयोगात्मक ज्ञान आर्जन गरे । यसैगरी कक्षा ९का छात्रछात्राहरूले विभिन्न कवि कवयित्रीहरूका कर्णप्रिय कविता वाचन गरेर सुन्ने र सुनाउने कार्यक्रम गरे । कक्षा १० का विद्यार्थीहरूले ‘अधिकार ठुलो कि कर्तव्य ठुलो’ भन्ने विषयमा वादविवाद प्रतियोगिता नै गरे । यसरी गरिएका बौद्धिक एवम् तार्किक सिपको विकास हुने कार्यक्रमले विद्यार्थीमा आत्म निर्भरताको विकास गराउनुका साथै पाठ्यक्रमले निर्धारण गरेको सिकाइ सक्षमता पूरा भएको छ ।
Date : 2023-08-14